Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

भरतपुरकी मेयर रेणु दाहालको बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता पक्राउ

चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनीहरू दुवैलाई गए राति आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई शेयर गरेका थिए ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राति पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।