युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पार्टी सञ्चालन गर्न नेता र कार्यकर्तामा अनुशासन जरुरी भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङको जिल्ला सम्मेलनको तयारी तथा उद्देश्यबारे सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस पार्टीभित्र उपलब्धिमूलक प्रशिक्षणको अभाव देखिएको बताए ।
पार्टीको मोरङ जिल्ला सभापतिसमेत रहेका मन्त्री लिम्बूले पार्टी मजबुत बनाउन आवश्यक रहेको उल्लेख गरे । ‘पार्टी र निर्वाचित जनप्रतिनिधिबीचको सुमधुर सम्बन्धको उचित विकासले मात्र समाजलाई अघि बढाउन सक्छ’, उनले भने .मन्त्री लिम्बूले फरक प्रसङ्गमा युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गरी सरकारले स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाएर गरिब बेरोजगार युवालाई देशमै बाँच्न सक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको उल्लेख गरे ।
कांग्रेस जिल्ला सचिव ललितबहादुर श्रेष्ठले जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको साथै जिल्लाभरका तीन हजार पाँच सय बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए । सम्मेलनको कांग्रेस नेता डा शेखर कोइरालाले उद्घाटन गर्ने छन् ।