Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भूकम्पपीडितका लागि टहरा निर्माणमा कांग्रेसले इन्जिनियर र डकर्मीसहित २५० जना स्वयमसेवक खटाउने

नेपाली कांग्रेसले भूकम्पपीडितका लागि १ हजार घर बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवकको २५टोली प्रभावित क्षेत्र पठाएर श्रमदान गर्ने भएको छ।

सोमबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माल जानकारी दिए ।  उनले भने, ‘जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय भएको छ । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक पठाउने निर्णय भएको छ।’

चिसोका कारण भूकम्पपीडित समस्यामा परेको भन्दै कांग्रेसले टहरा निर्माणमा श्रमदान गर्ने निर्णय गरेको हो।
प्रभावित क्षेत्रमा टहरा बनाउन पठाउने भनिएको प्रत्येक टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक सहित १० जना रहने विश्वकर्माले  जानकारी दिए । 

उक्त टोलीले सुत्केरी र वृद्धवृद्धा रहेका परिवारलाई प्राथमिकतामा राखेर टहरा निर्माण कार्य अगाडि बढाउने विश्वकर्माको भनाई छ।  चिसोका कारण अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको छ।