Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कंगना रनावतको फिल्म 'तेजस' सुपरफ्लप

बलिउड अभिनेत्री कंगना रनावतको फिल्म 'तेजस' भारतीय बक्स अफिसमा सुपरफ्लप सावित भएको छ।  भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले १४ दिनमा ६ करोड ८ लाख भारू कमाएको छ। फिल्मले १ करोड २५ लाख भारूमा ओपनिङ गरेको थियो। यस फिल्मको लगातार व्यापार घट्दै गएको छ। १४ औं दिनमा फिल्मले ४ लाख मात्रै कमाएको छ।  यो फिल्मको बजेट ६० करोड बताइएको छ।

सर्भेश मेवारा निर्देशित फिल्म अक्टोबर २७ देखि प्रदर्शन भएको हो। यो फिल्मसँगै विक्रान्त मैसी अभिनीत फिल्म '१२ वीं फेल' प्रदर्शन भएको थियो। यस फिल्मलाई दर्शकले खुबै रूचाइरहेका छन्। २० करोड बजेटमा बनेको फिल्मले दुई सातामा २७ करोड भारू कमाएको छ। यस तेजसबाट अभिनेत्री कंगना रनावत निकै आशावादी रहेकी थिइन्। फिल्मले कमजोर व्यापार गरेपछि उनले सामाजिक सञ्जालमार्फत फिल्म हेर्न आग्रह समेत गरेकी थिइन्। तर दर्शकले फिल्मप्रति खासै रूचि देखाएनन्। 

रोनी स्क्रुवालाको प्रोडक्सनको फिल्ममा कंगनासँगै अंसुल चौहन, वरुण मित्रा, आशिश विद्यार्थीलगायत कलाकारको अभिनय छ। फिल्ममा कंगनालाई एयरफोर्स पाइलटको भूमिकामा देख्न सकिन्छ।