भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भक्तपुर नगरपालिका –३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगीता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । चितुवालाई नियन्त्रणमा लिने क्रममा उनीहरू घाइते भएका हुन् । डिभिजन बन कार्यालय हात्तीसारबाट प्राविधिकसहितको उद्धार टोलीले चितुवालाई नियन्त्रणमा लिएका छन् । शुक्रबार बिहान भक्तपुर मध्यपुरठिमी–३ कौशलटारस्थित प्रविन पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बसेको थियो ।
अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ । त्यहाँबाट पत्र बनाएर चिडियाखाना लगिने छ । ‘सुरुमा चिडियाखाना लगेर स्वास्थ्य जाँच गर्छौं र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाड्छौं,’ वन अधिकृत अशोक पराजुलीले भने । वन अधिकृत पराजुलीका अनुसार चितुवा वयस्क छ । ‘चितुवा करिब ७–८ वर्षको होला, वजन पनि झण्डै एक सय किलो होला,’ पराजुलीले भने, ‘कठिन संघर्ष गरेर नियन्त्रणमा लिन सफल भएका छौं ।’