Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

२० रुपैयाँको विवादमा महिलाको हत्या गरेपछि...

अर्घाखाँचीमा २० रुपैयाँका निम्ति भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका–९, गोखुंगा, पात्लेगाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवकले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ।

मालारानी स्थायी ठेगाना भई भूमिकास्थान–१, रजिमेमा बस्दै आएका २० वर्षीय गोपाल नेपालीले गोखुंगा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक प्रतित सिंह राठोरले बताए । यही कात्तिक १४ गते २० रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए । झगडाले उग्ररूप लिँदै गएपछि घरमा एक्लै रहेकी वृद्धा भुसालमाथि मुक्का र खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या गरेको उनले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

हत्यापछि वृृद्धासँग भएको नगद र सुनका गरगहना समेत चोरेर नेपाली फरार भएका थिए । नेपालीलाई पक्राउ गरी अदालतबाट म्याद थप गराएर अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा नेपालीलाई सार्वजनिक पनि गरिएको थियो ।