Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रेशम चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित

 टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीको मुद्दा स्थगित भएको छ । टीकापुर घटनामा जन्म कैदको सजाए पाएका चौधरीलाई गत वर्षको गणतन्त्र दिवसको सन्दर्भ पारेर कैद माफी दिइएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले १५ जेठ, २०८० मा कैद मिनाहा दिएपछि उनी रिहा भएका थिए । सरकारको उक्त निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । बिहीबारका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो । “साप्ताहिक पेसी सूचीमा विभिन्न समूहबाट राखिएको हुन्छ । त्यसरी राखिएको इजलास राख्न नसकिएमा पूरै समूह नै स्थगितमा पर्छ,” सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले  भने, “यो (रेशमविरुद्ध शारदा कडायतको) रिट पनि त्यसरी नै स्थगितमा परेको हो ।”

शारदा टिकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहोराकी श्रीमती ह्ुन् । उनले आफ्ना श्रीमानका हत्यारालाई माफी मिनाहा दिएर संविधान र कानुनको उल्लंघन गर्नुका साथै पीडितलाई थप पीडा दिने काम भएको भन्दै निर्णय उल्टाउन माग गरेकी छन् ।