Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

दोलखाको ११ किलो सुन प्रकरण: काठमाडौंबाट थप एक जना पक्राउ

दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक जना महिलालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंबाट महिमा माझीलाई पक्राउ गरेको हो।

सोमबार पक्राउ परेकी महिलालाई मंगलबार थप अनुसन्धानका लागि दोलखा पठाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। 'दोलखा जिल्ला प्रहरी कार्यालयले उक्त महिलालाई पक्राउ गर्न पत्राचार गरेको थियो, त्यसैले पक्राउ गरेका हौं,' उनले भने, 'उनको भूमिकाबारे हामीलाई थाहा छैन।' बैंकिङ कारोबारमा उनको संलग्नता देखिएपछि पक्राउ गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए।

उनीसँगै यस प्रकरणमा १४ जना पक्राउ परिसकेको उनले बताए। गत असोजमा बिगु गाउँपालिका-१ बाट प्रहरीले ११ किलो सुन बरामद गरेको थियो। फलेक नाकाबाट भित्रिएको सुन आलुको बोरामा राखेर काठमाडौं ल्याइने गर्थ्यो। असोज १० गते दोलखामा सुनबारे हल्ला भएपछि प्रहरीले यसमा संलग्‍नहरूलाई पक्राउ गरेको हो।