Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कोशीमा बजेट प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला, अध्यादेश पारित

अहिलेसम्म अध्यादेशबाट बजेट धानिरहेको कोशी प्रदेश सरकारलाई अब प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने बाटो खुला भएको छ। सोमबारको प्रदेशसभा बैठकले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ। बजेट अध्यादेश पारित भएपछि अब प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको र तिहार लगत्तै प्रतिस्थापन विधेयक ल्याइने गठबन्धनका नेताहरुले बताएका छन्।

‘प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गर्न यो अध्यादेश पारित गर्नुपर्थ्यो’, माओवादी नेता इन्द्र आङ्बोले भने, ‘अब मंसिर १६ भन्दा अघि नै प्रतिस्थापन विधेयक आउनेछ।’ यसअघि प्रदेशमा एक पटक बजेट शून्यताको अवस्थासमेत आएको थियो। प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो।

अध्यादेश अस्वीकृतिको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरुले प्रदेशसभा सचिवालयमा दर्ता गरेको सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएपछि अध्यादेश स्वीकृत भएको हो। बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रस्तुत भएको छ। प्रदेशसभाको अर्को बैठक भोलि (मंगलबार) हुनेछ।