‘उपचारमा समस्या हुँदैन चिन्ता नलिनू’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन् । भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आएका हुन् ।
भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई ढाडस दिएर रुकुम पश्चिम फर्किएका छन् । जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटी ढाडस दिएका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।

‘डाक्टर र औपधि ल्याएर आएका छौं । उपचारमा समस्या हुँदैन छिट्टै निको हुन्छ । चिन्ता नलिनुहोला,’ उनले भने । प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन् । उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि यहाँ आइपुगेका छन् ।