Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सरकार बिके पनि न्यायालय बिकेको रहेनछ: भारती मानन्धर

भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्यारा  योगराज ढकाल ‘रिगल’को आममाफी बदर गर्ने सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको भन्दै खुसी व्यक्त गरेकी छन् ।  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारतीले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै उनले अदालतप्रति आम नागरिकको भरोसा बढेको बताएकी हुन् । 

उनले भनिन्, ‘फैसला सुन्दा अब न्यायाधीशरु पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्योदेखि म गलत भए । त्यो फैसलापछि म यति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धर्धरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो । फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकि सके पनि न्यायलय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ ।’ न्यायाधीहरु पनि राजनीतिक दबाबमा आएर दोषिको पक्षमा फैसला सुनाउने हो की भन्ने सोचेर डराउँदै फैसला सुनेको उनको भनाई छ । 

उनले भनिन्, ‘न्यायाधीश पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरुले पनि मलाई के न्याय दिनुहुन्छ होला? दवावमा आएर उहाँहरुले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ । मैले आँखा बन्द गरेर दुई जना साथीहरुको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जित हुन्छ कि हत्याराहरुको जित हुन्छ भन्ने सोचमा म थिएँ ।’  भारतीले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्नसमेत आह्वान गरिन् ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिईन् । उक्त निवेदन पश्चात नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल डन भन्ने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको हो ।