मोरङको ‘ग्रिनक्रस अस्पताल’ मा नवजात शिशु ब्रिकी प्रकरणमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित तीन जना कारागार चलान भएका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार कर्णसहित अन्य दुई जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । कर्णसहित कटहरी–४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई जेल चलान भएका हुन् ।
नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । यसमध्ये तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा रिहा भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रन्जन कुमार दाहालले जानकारी दिए ।
मोरङ कटहरी– २ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख रूपैयाँ, सिरहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख रूपैयाँ र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई दस हजार रूपैयाँ धरौटी रकम माग गरिएको छ ।
भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन् । सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा। कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो ।