Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

दाउपेचको राजनीति गरिरहेको माओवादीसँग वार्ता गर्नुको औचित्य छैन: डा. भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले दाउपेचको राजनीति गरिरहेको नेकपा (माओवादी केन्द्र) सँग वार्ता गर्नुको औचित्य नभएको बताएका छन् ।

बुधबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टी एकताका लागि पठाइएको ९ बुँदे प्रस्तावमाथि माओवादीले छलफल नै गर्न नचाहेको निचोड पनि निकालेको छ । केहीअघि पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई मात्रै माओवादीले पत्र पठाएपछि नेसपा तरंगित भएको थियो । माओवादीले दाउपेचको राजनीति गरिरहेकाले वार्ताको औचित्य नरहेको पार्टी अध्यक्ष डा. भट्टराईको भनाइ छ ।

‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्त्वपूर्ण नौ बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ । हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रूपान्तरणसहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यो स्थितिमा हामीले प्रस्तुत गरेको ९ बुँदे समष्टीगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रस्ट पार्न चाहन्छ ।’ नेसपाले आगामी वैशाखमा पार्टीको प्रथम महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

press.webp