Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सडकबाटै डाक्टरहरुको प्रश्न: यो राज्यलाई हामी चाहिँन्छ कि चाहिँदैन?’

काठमाडौं । सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।   सेतो कोट लगाएर आज पनि सडकमा उत्रिएका उनीहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षा हुनु पर्ने माग गरेका छन् ।

Photo (4).jpg

राज्यलाई डाक्टर चाहिँन्छ कि चाहिँदैन ? उनीहरुको प्रश्न छ ।  आन्दोलनमा सहभागी डाक्टर निरज अधिकारीले सरकारले आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै आक्रोश पोखे ।  उनले भने,‘जसलाई संरक्षण गर्नुपर्ने हो उनीहरुलाई चाँहि ओझेलमा राख्ने उनीहरुको वास्ता गर्न राज्यलाई जरुरी छैन । भोट मात्र चाहिने रहेछ । यो सेतो कोट त पावरमा बस्ने मानिसले गिज्याउने वस्त्र भएको छ । ’

Photo (5).jpg

चिकित्सकमाथि हातपात हुँदा सरकारले सकारात्मक प्रतिक्रिया नदिएको भन्दै उनले राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न गरे ।  उनले भने, ‘ जुन तरीकारले चिकित्सकमाथि हातपात भएको छ । अभद्र व्यवहार भएको छ । यो भत्र्सनीय छ । आज सरकारले राम्रो प्रतिक्रिया दिएको भए अस्पतालमा बिरामी हेरेर बस्नुपर्ने यहाँ मण्डलमा आएर बस्न जरुरी थिएन । यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन?’

Photo (9).jpg

डाक्टरहरूले कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् ।

यसअघि सरकारले देशभरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानूनी व्यवस्थाको जानकारीमूलक बोर्ड र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने  र पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने निर्णय गरेको थियो ।

Photo (2).jpg

तर त्यसप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरु आन्दोलनलाई निरन्तरता दिएका हुन् । 

भिडियो