Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नेप्समा संचालक समितिको अध्यक्षमा विश्वम्भर न्यौपाने

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) को भाद्र १७ गते बसेको संचालक समितिको बैठकले विश्वम्भर न्यौपानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ । निवर्तमान अध्यक्षलाई प्रतिस्थापन गर्दै नयाँ संचालक मनोनित भएपछि केहि समयदेखि अध्यक्ष पद रिक्त रहेको थियो । न्यौपाने लामो समय देखि हाल माछापुच्छ्रे बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी संचालक पदमा कार्यरत छन्। भुक्तानी प्रणाली विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ को विनियम १२ बमोजिम ईजाजत प्राप्त संस्थाको संचालक समितिको अध्यक्षले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर वा विभागको कार्यकारी निर्देशक समक्ष सपथ ग्रहण गर्नुपर्ने प्रावधान अनुरुप नेप्सका नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना समक्ष असोज ५ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । १२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं संचालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली संचालकका साथै PCI SSC को Board of Advisory र PCI DSS Version 3.2 र PCI PIN प्रमाणित संस्था पनि हो । नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाइ विभिन्न कार्ड संजाल मार्फत कारोवारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ ।