Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा

संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे भएको वार्तालाई अस्वीकार गर्दै महासङ्घ आन्दोलनमा उत्रेको हो । महासङ्घले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना सुरु गरेको हो । गत वर्षको तथ्याङ्अनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् । मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा भाग लिन काठमाडौँमा आउन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको जानकारी दिए। उनले सरकार र महासङ्घबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरूलाई विधेयकले यथोचित सम्बोधन नगरेको गुनासो गरे । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।