Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सन नेपाल लाइफको सेयर बिहीबारबाट कारोबारमा

सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर धितोपत्र दोस्रो बजारमा बिहीबारबाट कारोबारमा आउने भएको छ। सन नेपाल लाइफको आईपीओ आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि असोज ३ गते (बुधबार) संविधान दिवसका अवसरमा सार्वजनिक बिदा दिइएकोले यो कम्पनीको सेयर बिहीबारबाट कारोबारमा आउने भएको हो। नेप्सेमा सन नेपाल लाइफको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड २४ लाख कित्ता (७० प्रतिशत) र सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ९६ लाख कित्ता (३० प्रतिशत) छन्। नेप्सेले सन नेपाल लाइफलाई ‘एसएनएलआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १५८.४१ रुपैयाँदेखि अधिकतममा ४७५.२३ रुपैयाँ तोकिएको छ। बिहीबारको स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ। सन नेपाल लाइफले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई १०० अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीको बाँडफाँड गत भदौ १५ गते धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा गरिएको थियो।