Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता, एसईई नरहने प्रस्ताव

सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । साउन १६ गते नै मन्त्रीपरिषद् बैठकले शिक्षा विधेयक संसदमा पेस गर्न दिएको विधेयक आज दर्ता भएको हो । प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रूपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । उक्त विधेयक संशोधनबिना पारित भए राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मात्रै परीक्षा सञ्चालन गर्नेछ । यसैगरी, संसद्‌मा दर्ता गरिएको शिक्षा ऐन संशोधन विधेयक अनुसार अब माध्यामिक तहमा अध्यापन गराउने शिक्षकको शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनामा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र शैक्षिक गुणस्तर परीक्षण केन्द्र र प्रत्येक जिल्लामा शिक्षा कार्यालय रहने व्यवस्था गरिएको छ।