Jun 25 2026

Jun 25 2026 | बिहिवार, आषाढ ११ गते २०८३

महाधिवेशन जारी रहँदा रास्वपाले माग्यो आर्थिक सहयोग

असार ७ गतेदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन जारी रहेको छ। महाधिवेशनको व्यवस्थापन तथा सञ्चालनका लागि पार्टीले आफ्ना सदस्य, समर्थक र शुभचिन्तकसँग आर्थिक सहयोगको आह्वान गरेको छ।

पार्टीको आधिकारिक वेबसाइटमा ‘सहयोग गर्नुहोस्’ शीर्षकको विशेष विकल्प राखिएको छ। उक्त विकल्पमार्फत रास्वपाले आफ्नो ऐतिहासिक प्रथम महाधिवेशन सफल बनाउन सहयोग गर्न सदस्य तथा शुभचिन्तकहरूलाई अनुरोध गरेको जनाएको छ।

वेबसाइटमार्फत सहयोग गर्न चाहने व्यक्तिले फोनपे, ईसेवा, कनेक्ट आईपीएस, खल्ती लगायतका डिजिटल भुक्तानी माध्यम प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सहयोगस्वरूप प्राप्त हुने रकम नेपाल बैंक लिमिटेड मा खोलिएको पार्टीको खातामा जम्मा हुने जनाइएको छ।

रास्वपाले महाधिवेशनलाई थप व्यवस्थित र सहभागीमुखी बनाउन जनस्तरबाट प्राप्त सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ। पार्टीले पारदर्शी ढंगले आर्थिक सहयोग संकलन गर्ने प्रतिबद्धता पनि जनाएको छ।