नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रतिनिधि तोकिएको हो।
कांग्रेसले यसपटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका प्रतिनिधिले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर काम गर्ने जानकारी दिएका छन्।