सुनसरीमा डाक्टरले चलाएको विद्युतीय कारको ठक्करबाट नेपाल प्रहरीका एक वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) को मृत्यु भएको छ। मंगलबार दिउँसो हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका–६ स्थित नरह चोक नजिक भएको सवारी दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी ५० वर्षीय वरिष्ठ सई लालकुमार यादवको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेका अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक यादव जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए। दुर्घटनामा यादवकी ४७ वर्षीया पत्नी रामपरी यादव पनि घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको र विराट नर्सिङ होममै उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।