Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका ठूला कम्पनीहरूको सूची हेर्दा आगामी दिनमा आईपीओ बजारको संरचनामै परिवर्तन आउने संकेत देखिएको छ । विगतका वर्षहरूमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत कम्पनीका हुने गरेका थिए ।

यसले लगानीकर्तालाई क्षेत्रगत विविधीकरणको अवसर सीमित बनाएको थियो । तर अहिले सिमेन्ट, स्टिल, लगानी तथा सञ्चार क्षेत्रका ठूला कम्पनीहरू शेयर निष्काशनको तयारीमा रहेकाले लगानीकर्ताले फरक–फरक क्षेत्रका कम्पनीमा लगानी गर्ने अवसर पाउने भएका छन् ।

पाइपलाइनमा रहेका जगदम्बा स्टिल्स, अम्बे स्टिल्स, गोदावरी स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट्स, रिद्धिसिद्धि सिमेन्ट तथा सुभश्री अग्नि सिमेन्ट उद्योगजस्ता कम्पनीहरूले ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेका छन् । यस्तै, डिश मिडिया नेटवर्क (डिशहोम) र शिवम होल्डिङ्ग्सजस्ता कम्पनीले पनि बजारमा प्रवेश गर्ने योजना बनाएका छन् । विश्लेषकहरूका अनुसार उत्पादनमूलक क्षेत्रका कम्पनीहरूको आगमनले नेपाली शेयर बजारको गुणस्तर सुधार्न मद्दत पुग्न सक्छ । जलविद्युत क्षेत्रको तुलनामा उत्पादनमूलक उद्योगहरूको आम्दानी, नगद प्रवाह र व्यवसायिक गतिविधि बढी विविध हुने भएकाले लगानीकर्ताले नयाँ विकल्प पाउनेछन् । विशेषगरी सिमेन्ट र स्टिल उद्योगहरू मुलुकको पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएका क्षेत्र हुन् । यस्ता कम्पनीहरू शेयर बजारमा सूचीकरण हुँदा वास्तविक क्षेत्र (रियल सेक्टर) र पूँजी बजारबीचको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ ।

यद्यपि केही कम्पनीहरूले उच्च प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेकाले लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था, नाफा, सम्पत्ति तथा भविष्यको सम्भावनाको विस्तृत अध्ययन गरेर मात्र लगानी निर्णय लिनुपर्ने विज्ञहरूको सुझाव छ । बजार जानकारहरूका अनुसार उत्पादनमूलक कम्पनीहरूको संख्या बढ्दै जानु नेपाली पूँजी बजारको परिपक्वताको संकेत हो । यसले जलविद्युत कम्पनी केन्द्रित बजारलाई बहुआयामिक बनाउने र दीर्घकालमा बजारको स्थायित्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।