Jun 22 2026

Jun 22 2026 | सोमवार, आषाढ ८ गते २०८३

राहदानी छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले पूर्वपरराष्ट्र मन्त्री आरजू राणासहित १८ जनाविरूद्ध विशेष अदालतमा मुद्दा पेस गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

उनका अनुसार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, रविन राज भण्डारी, राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा, विपिन प्रसाईं, शत्रुधन प्रसाद शर्मा पोखरेल लगायतविरूद्ध मुद्दा आएको हो।

यस्तै, छपाइको ठेक्का पाउने जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले पेस्की बापत १ अर्ब भुक्तानी लिएको अख्तियारले गरेको अनुसन्धानबाट खुलेको छ । मुल्हबाउरले १ अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए ।

नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्रराज मल्लविरूद्ध मुद्दा पेस भएको हो। अख्तियारले सात जनालाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित समेत गराएको छ।

असार २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारका पदाधिकारीहरूलाई बोलाइएको थियो।

त्यहाँ पदाधिकारीहरूलाई बोलाएर राहदानी विभागका महानिर्देशक अर्याललाई पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रधानमन्त्रीका सचिवालय सदस्यहरूले दबाब दिएको खुलेको थियो।

त्यहीँ प्रधानमन्त्रीको कार्यालयबाटै अर्याललाई पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको थियो।

यही अनुसन्धानको शिलशिलामा असार २ गते पूर्व परराष्ट्र मन्त्री आरजू राणालाई बयानका लागि उपस्थित हुन भनेर अख्तियारले म्याद तामेलीमा राखेको थियो। 

असार ४ गते राहदानी छपाइमा संलग्न दुई जर्मन कम्पनीलाई भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन भनेर राइजिङ नेपालमा अख्तियारले सूचना समेत जारी गरेको थियो। म्युल्बाउअर आइडी सर्भिसेस र भेरोडास कम्पनीको नाममा सूचना जारी गरिएको थियो।

अख्तियारले सूचना निकालेर उपस्थित हुन भनेकामा म्युल्बाउअर आइडी सर्भिसेसका गेरहार्द माउरेर र पाभ्ली राकिक छन् भने भेरोडोस कम्पनीका फाबियोला बेलरशेइम र फ्लोरियन पाकक्वेलिन छन्।