राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता भएको छ ।
हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न गृहमन्त्रीविरुद्ध सोमबार उजुरी परेको हो ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।
आयोगको एक विशेष टोली तत्काल सोह्रखुट्टे प्रहरी वृत्तमा खटाई तात्कालिक हिरासतमा रहेका पीडित अजय सोडारी, प्रकाश बम र सुजन पौडेलको बयान लिइ घटनाको सत्यतथ्य जाँचबुझ गर्न माग गरिएकाे छ ।
गृहमन्त्री गुरुङको टोली प्रवेश गरेको गत जेठ १९ गतेको सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत क्षेत्र तथा परिसरको सम्पूर्ण सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर आयोगले तत्काल आफ्नो नियन्त्रणमा लिई सुरक्षित गर्न समेत माग गरिएकाे छ।