जारी फिफा विश्वकपमा क्यानडाले कतारलाई ६- ० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
भ्यानकुभरमा भएको खेलमा क्यानडाले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको १६औँ मिनेटमा काइल लारिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपे भने पहिलो हाफको अतिरिक्त समयमा उनले दोस्रो गोल गर्दै क्यानडालाई ३-० को सहज अवस्थामा पुर्याए ।
खेलको ३३औँ मिनेटमा कतारका होमाम एल अमिनले व्यावसायिक फाउल गरेपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए । दोस्रो हाफमा नाथन सालिबाले फ्रिकिकमार्फत गोल गरेपछि क्यानडाको अग्रता ४-० पुगेको थियो ।
तर खेलको मुख्य चर्चा इस्माइल कोनेको चोट बन्यो । कतारका आसिम ओमर मादिबोसँग बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा उनी गम्भीर रूपमा घाइते भएका थिए । लामो समय उपचारपछि उनलाई स्ट्रेचरमार्फत मैदानबाहिर लगिएको थियो । भिडियो सहायक निर्णायकको समीक्षापछि मादिबोको पहेँलो कार्डलाई रातो कार्डमा परिवर्तन गरिएको थियो । घाइते अवस्थामै कोनेले समर्थकतर्फ हात हल्लाउँदै प्रतिक्रिया जनाएका थिए । क्यानडाका प्रशिक्षक जेसी मार्स पनि भावुक बनेका थिए । त्यसपछि कतारका मोहम्मद अल मन्नाईले आत्मघाती गोल गरे भने अतिरिक्त समयमा डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।
यो जितसँगै क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । समान अंक भए पनि गोल अन्तरमा स्विट्जरल्यान्डभन्दा तीन गोलले अगाडि रहेको क्यानडा अब नकआउट चरण नजिक पुगेको छ । यद्यपि कोनेको चोट टोलीका लागि ठूलो चिन्ताको विषय बनेको छ । त्यस्तै कतारको भने २ खेलमा केवल एक अंक रहेको छ र समुहमा पुछारमा रहेको छ ।
अब क्यानडाले अर्को खेल जुन २५ मा स्विजरल्याण्डसँग खेल्ने छ भने सोहि दिन कतारले बोस्नियासँग खेल्ने छ ।