Jun 15 2026

Jun 15 2026 | सोमवार, आषाढ १ गते २०८३

माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम चाहिन्छ : भरत गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद भरत गिरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू नेपाली भूमिमा प्रवेश गरेको दाबी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गिरीले देशको भूगोल र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले जुन १३ मा पश्चिम नवलपरासीस्थित सुस्ता गाउँपालिका–५ को थारु टोल क्षेत्रमा हतियारसहित भारतीय एसएसबीका जवानहरू अनुमति बिना नेपाली भूमिमा प्रवेश गरेको आरोप लगाए ।

गिरीका अनुसार उक्त घटनाका बेला राज्यको उपस्थिति नरहेको र त्यहाँ नेपाली सुरक्षाकर्मी पनि नभएका कारण स्थानीय किसानहरू आफैं अघि सरेका थिए । उनले स्थानीय बासिन्दाले साहसपूर्वक प्रतिरोध गर्दै भारतीय सुरक्षाकर्मीलाई फर्काउन सफल भएको दाबी गरे ।

उनले भने, ‘देशको भूगोल र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार प्रहार हुँदा भतभती पोलेको एउटा जलिरहेको नेपाली मुटु लिएर उभिएको छु । जुन १३ तारिखका दिन पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, थारु टोलमा हतियारधारीसहित भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानहरू हाम्रो सार्वभौम माटोमा बिना अनुमति जबर्जस्ती छिरे। त्यहाँ राज्यको उपस्थिति थिएन। त्यहाँ हाम्रा सुरक्षाकर्मी थिएनन्, त्यहाँ केवल सोझा हलो जोत्ने किसानहरू थिए। जसले आफ्नो अदम्य साहसले ती हतियारधारी सैनिकलाई लखेटे र प्रमाणित गरिदिए कि माटो जोगाउन कपडाको बर्दी होइन, छातीमा देशप्रेम चाहिन्छ । देशको सीमामा ढाल बनेर उभिनुहुने ती सम्पूर्ण सुस्तावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा उच्च सम्मान।’

सांसद गिरीले सुस्तावासी नागरिकहरूले राष्ट्रिय स्वाभिमान र भूमिको रक्षा गरेको भन्दै उनीहरूको प्रशंसा गरे । उनले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरू देशको सीमाको ढाल बनेर उभिएको उल्लेख गर्दै सुस्तावासी दाजुभाइ तथा दिदीबहिनीप्रति उच्च सम्मान व्यक्त गरे ।

उनले सीमा सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएर सरकारलाई आवश्यक पहल गर्न समेत आग्रह गरे ।