गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा मन्त्री गुरुङले प्राकृतिक प्रकोपबाट प्रभावितहरूको व्यवस्थापनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको बताएका हुन् ।
उनले विपद् व्यवस्थापनका लागि भइरहेका तयारीका बारेमा आफूले स्थलगत अनुगमन समेत गर्ने जानकारी दिए । खरिद प्रक्रिया लामो हुँदा उद्धार सामग्री समयमा नै आउन नसक्ने अवस्था समेत देखिएकाले काम गर्न सहज हुने गरी ऐन बनाउनुपर्नेमा उनले जोड दिए ।
मन्त्री गुरुङले यस पटकको बजेटको सिलिङ भन्दा २० अर्ब बढी रुपैयाँ थप भए पनि मन्त्रालयगत रुपमा प्रभावकारी रुपमा काम गर्न अझै पनि बजेट अभाव रहेको गुनासो गरे ।