Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भीषण हावाहुरीले चन्द्रपुरका किसान मारमा, डेढ करोड बराबरको खेती नष्ट

केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । 

सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर–३ मा लगाइएको करिब रु डेढ करोड बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् ।

चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहपुरलगायत गाउँमा हावाहुरीले केराखेतीमा पूर्ण रुपमा क्षति पु‍र्याएको छ । चन्द्रपुर–३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ । यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । 

सोमबार आएको हावाहुरीले हजारौँ बोट केरा ढल्दा वर्षभरिको मेहनत एकैछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताए । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धरासायी हुने अवस्थामा पुगेका छन् ।

केरा खेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केरा खेती नष्ट हुने गरेको तर बिमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतमले बताए । यस क्षेत्रमा व्यावसायिक रुपमा केरा खेती गर्ने किसान बढेपछि केरा खेतीको बिमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनवाइ नभएको उनले बताए ।

बिमाका लागि चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बिमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उनले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् । रौतहटमा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेति भएको र हावाहुरीबाट रु तीन करोडभन्दा बढीको क्षति पुगेको छ ।

यस्तै चन्द्रपुर–३ का अर्का किसान रमेश घिमिरेले केरा खेतीको बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताए । यहाँ बिमा नहुँदा किसान मारमा परेको उनले बताए । अहिलेको समयमा हरेक बालीको बिमा अपरिहार्य भएको घिमिरेले बताए । बिमा कम्पनीले जोखिम बढी हुने भन्दै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको उनको गुनासो छ । यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन् ।

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बिमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए। बालीका लागी बिमा अति आवश्यक भएकाले बिमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।