Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जुम्लाबाट राप्रपाको पहिलो अग्रता, ज्ञानेन्द्र शाही अघि

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणना भइरहेका बेला कमजोर देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलोपटक अग्रता हासिल गरेको छ। राप्रपाले जुम्लाबाट अग्रताको खाता खोलेको हो।

प्रारम्भिक मतगणनाअनुसार ३०० मत गणना हुँदा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले १३५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले १०३ मतसहित पछ्याइरहेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले २३ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २ मत मात्र प्राप्त गरेकी छन् भने १० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। प्रारम्भिक मतपरिणामले जुम्लामा राप्रपाको अग्रता देखाए पनि अन्तिम परिणाम भने मतगणना सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ।