प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै क्षेत्रमा अग्रता लिएको छ।
प्राप्त अपडेटअनुसार रास्वपाले मतगणना सुरु भएका ३२ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। चितवन–२ मा सभापति रवि लामिछाने अग्रस्थानमा छन् भने झापा–५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन्।
काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा रहेका छन्।
भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा पनि रास्वपाले अग्रता कायम गरेको छ। भक्तपुर–१ मा रुकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री अगाडि छन्।
यस्तै मोरङ–१ मा यज्ञमणी न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–५ मा आशा झा, धनुषा–३ मा मनिष झा, रौतहट–४ मा गणेश पौडेल, बारा–३ मा अरविन्द साह, ललितपुर–२ मा जगदीश खरेल र चितवन–३ मा सोविता गौतमले अग्रता लिएका छन्।
कास्कीका तीनै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडि देखिएका छन्। कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ अग्रस्थानमा छन्।
यसैगरी रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा लेखजङ्ग थापा, दाङ–१ मा देवराज पाठक, बाँके–१ मा सुरेशकुमार चौधरी, बाँके–३ मा खगेन्द्र सुनार र कञ्चनपुर–२ मा दीपकराज बोहराले अग्रता लिएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।