प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणनामा काठमाडौं उपत्यकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता हासिल गरेको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपा उम्मेदवार अगाडि देखिएका छन्।
काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २/२ क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता कायम गरेका हुन्।काठमाडौं जिल्लाका सबै १० क्षेत्रमै रास्वपा उम्मेदवारहरू अगाडि छन्। काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, काठमाडौं–९ मा डीपी अर्याल र काठमाडौं–१० मा प्रदीप विष्टले अग्रता लिएका छन्।
ललितपुरमा पनि रास्वपाको बलियो उपस्थिति देखिएको छ। ललितपुर–२ मा जगदिश खरेल र ललितपुर–३ मा तोसिमा कार्की अगाडि छन्। भने ललितपुर–१ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता कायम गरेका छन्।
भक्तपुरका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार अगाडि छन्। नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित अग्रस्थानमा छन् भने नेमकिपाका प्रेम सुवाल उनलाई पछ्याइरहेका छन्।
यसैगरी भक्तपुर–२ मा रास्वपाका राजिव खत्री अगाडि छन् भने नेकपा एमालेका महेश बस्नेत पछि परेका छन्। प्रारम्भिक मतपरिणामले काठमाडौं उपत्यकामा रास्वपाको बलियो प्रभाव देखाएको छ। यद्यपि अन्तिम परिणाम भने मतगणना सकिएपछि मात्र स्पष्ट हुनेछ।