देशभर चुनावी माहोल तातिरहेका बेला काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शना १० दिने शिशु बोकेरै मतदान गर्न मतदान केन्द्र पुगेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार दर्शना चुनाव प्रचारकै क्रममा १० दिनअघि फागुन २१ गते निजामती अस्पताल मा छोरा जन्माएकी थिइन्।
शिशु जन्मिएको केही दिनमै उनले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै शिशुसहित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाट उनले आफ्नो मत काठमाडौं क्षेत्र नम्बर ५ मा खसालेकी हुन्। उनी भने काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छिन्।
काठमाडौं क्षेत्र नम्बर १ मा दर्शना रवीन्द्र मिश्र लगायतका उम्मेदवारसँग प्रतिस्पर्धामा रहेकी छन्। १० दिने शिशु बोकेरै मतदान केन्द्र पुगेको उनको दृश्य सामाजिक सञ्जालमा पनि चर्चा बनेको छ। लोकतन्त्रमा नागरिकको सक्रिय सहभागिताको उदाहरणका रूपमा धेरैले उनको प्रशंसा गरेका छन्।