राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आधिकारिक भेरिफाइड फेसबुक पेज एकाएक ‘गायब’ भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै उनको प्रमाणित फेसबुक पेज सर्च गर्दा नदेखिने भएको हो।
मौन अवधि सुरु हुनुअघि सोमबार उनले सोही पेजमार्फत मत माग्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए। त्यसयता भने उक्त भेरिफाइड पेज फेला नपरेको देखिएको छ।
लामिछानेका अन्य व्यक्तिगत तथा अनौपचारिक फेसबुक प्रोफाइलहरू भने यथावत् रहेको पाइएको छ। तर, आधिकारिक रूपमा प्रमाणित गरिएको पेज नै नदेखिएपछि समर्थक र सर्वसाधारणबीच विभिन्न अड्कलबाजी सुरु भएको छ।
पेज प्राविधिक कारणले हटाइएको हो वा मौन अवधिसम्बन्धी निर्वाचन आचारसंहितासँग सम्बन्धित विषयका कारण अस्थायी रूपमा निष्क्रिय बनाइएको हो भन्नेबारे आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। यस विषयमा सम्बन्धित निकाय वा लामिछानेको तर्फबाट स्पष्टिकरण आउन बाँकी रहेको छ।