Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मध्यपूर्वमा तनाव बढेपछि उडान रद्द, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र

मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द भएका छन्।

अमेरिका-इसराइल र इरानबीच भइरहेको तनावले गर्दा विश्वभरिका उडानहरू प्रभावित भएका हुन्। यसरी हवाइ क्षेत्र प्रभावित हुँदा नेपालका उडानहरू समेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

यस्तै शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए । जसकारण करिब ३ हजार यात्रुलाई असर परेको छ।

नेपाल एयरलाइन्सको तीन वटा उडानहरू काठमाडौंदेखि दमाम, काठमाडौंदेखि दोहा र काठमाडौंदेखि दुबई उड्ने उडान रद्द भएका थिए।

त्यस्तै कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका थिए भने चार वटा फ्लाइ दुबईको पनि भएका थिए । जसमा करिब ६०० यात्रुलाई असर परेको छ ।

त्यसैगरी एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइटका करिब ३०० यात्रु, दमाम जाने हिमालय एयरलाइन्स ३ वटा  रद्द भएका थिए । जसमा करिब ५०० यात्रु र कुवेत जाने दुई वटा फ्लाइटमा ३०० यात्रु प्रभावित भएका हुन्।

शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड लागेको थियो। उडान रद्द भएपछि घन्टौं बसेर उनीहरू घर फर्किएका थिए।

विश्वकै व्यस्तमध्येको देश मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द भएको छ। दुबईमा इरानले ड्रोन हमला गर्दा विमानस्थलमा समेत क्षति पुगेको छ ।

यस्तै, आइतबार पनि उडानहरू प्रभावित हुनसक्ने सूचना अधिकारी भूलले जानकारी दिए।