Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रास्वपाका कोसी प्रदेश सदस्य ठगेन्द्रप्रसाद न्यौपाने एमालेमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश समिति सदस्य ठगेन्द्रप्रसाद न्यौपाने नेकपा एमालेमा प्रवेश गरेका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बनेका उनी यसपटक पनि टिकटको आकांक्षी थिए ।

तर रास्वपाले मोरङ–२ मा उम्मेदवार परिवर्तन गर्दै कृष्ण कार्कीलाई टिकट दिएकोमा असन्तुष्ट न्यौपानेले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार साँझ झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका थिए । भोलिपल्ट शनिबार बिहान न्यौपानेले विराटनगरमा पत्रकार सम्मेलन गरी रास्वपा छोड्नुको कारण सार्वजनिक गरेका छन् ।

न्यौपानेले भने, ‘एक महिना १० दिनसम्म मेरो टिकट किन आएन भन्ने प्रश्नको जवाफ खोज्न मैले हिजो रातिसम्म पर्खिएँ, तर कुनै जवाफ पाउन सकिनँ । मतदाताको विश्वासमाथि कुठाराघात गर्न नसकेर र यो माटोलाई धोका दिन नसकेर म बाध्य भएर राष्ट्रवादी शक्ति एमाले रोज्न पुगेको हुँ ।’

उनले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै पार्टीका नेता ‘फ्रि फायर र पब्जीका सिपाही’ जस्ता भएको टिप्पणी पनि गरे । रास्वपाका उम्मेदवारहरूको व्यवहार र भावभङ्गीले आफूलाई झस्काएको उनले बताए ।

न्यौपानेले मतदाताहरुलाई सुझाव दिँदै भने, ‘तपाईँले मत दिने प्रतिनिधि वा दल समाजप्रति कति उत्तरदायी छ र उसको पृष्ठभूमि के हो भन्ने नबुझी मत नदिनुहोला ।’ साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ को नाकाबन्दीका बेला लिएको राष्ट्रवादी अडान र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा आफ्ना लागि प्रेरणा बनेको दाबी गरेका छन् ।