Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका विश्वको पहिलो नेता बने मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल इन्स्टाग्राममा १० करोड (१०० मिलियन) फलोअर पार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

योसँगै मोदी इन्स्टाग्राममा १० करोड फलोअर पार गर्ने विश्वको पहिलो नेता तथा राजनीतिज्ञ बनेका हुन् । मोदी सन् २०१४ मा इन्स्टाग्राममा आबद्ध भएका थिए । पछिल्लो एक दशकमा उनको आधिकारिक खाता विश्वका नेताहरूमध्ये सबैभन्दा सक्रिय र आकर्षक डिजिटल प्लेटफर्ममध्ये एकका रूपमा विकसित भएको पाइएको छ । उनका पोस्टहरूमा सरकारी गतिविधि, अन्तर्राष्ट्रिय भ्रमण, सांस्कृतिक कार्यक्रम तथा व्यक्तिगत झलकसमेत समेटिने गरेका छन् ।

मोदी पछि धेरै फलोअर संख्या अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् । ट्रम्पका ४ करोड ३२ लाख फलोअर्स रहेका छन् । त्यस्तै इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो १ करोड ५० लाख फलोअर्स छन भने ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाका १ करोड ४४ लाख फलोअर्स, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान १ करोड १६ लाख फलोअर्स र अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई ६४ लाख फलोअर्स रहेका छन् ।   

डिजिटल माध्यममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने रणनीतिका कारण नेताहरुको सामाजिक सञ्जाल उपस्थिति प्रभावशाली बन्दै गएको विश्लेषण गरिएको छ।