Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एपस्टाइनसँग सम्बन्ध राख्नु गल्ति भएको बिल गेट्सको स्वीकारोक्ति

विश्वप्रसिद्ध उद्योगपति तथा परोपकारी बिल गेट्सले यौन अपराध अभियोगमा दोषी ठहरिएका जेफ्री एपस्टाइनसँगको आफ्नो सम्बन्धलाई 'ठूलो गल्ती' भएको स्वीकार गरेका छन् ।

गेट्स फाउन्डेशनमा आयोजित एक आन्तरिक बैठकमा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले एपस्टाइनसँग भेटघाट गर्नु गलत निर्णय भएको बताएका हुन् ।

गेट्सले कर्मचारीहरूलाई एपस्टाइनसँग समय बिताउनु र फाउन्डेशनका अधिकारीहरूलाई समेत ती भेटमा सहभागी गराउनु अनुचित भएको स्वीकार गरेका थिए । उनले भनेका छन्- 'मेरो निर्णयका कारण यस विषयमा तानिएका सबैसँग म माफी चाहन्छु ।'

अमेरिकी न्याय विभागले सार्वजनिक गरेको कागजातअनुसार एपस्टाइनले सजाय भोगिसकेपछि पनि गेट्स र एपस्टीनबीच पटक-पटक भेटघाट भएको उल्लेख छ। ती भेटमा गेट्सका परोपकारी पहल विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ ।

रिपोर्टमा गेट्सले दुई रुसी महिलासँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गरेको पनि उल्लेख छ, जसबारे एपस्टाइनलाई जानकारी भएको बताइएको छ । तर उनले ती सम्बन्ध एपस्टाइनका पीडितहरूसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । गेट्सले कर्मचारीहरूलाई आफूले कुनै अवैध कार्य नगरेको र त्यस्तो कुनै गतिविधि नदेखेको दाबी गरेका छन् ।

न्याय विभागका कागजातमा केही तस्बिरहरू पनि समावेश छन्, जसमा गेट्स महिलाहरूसँग देखिएका छन् । ती तस्बिर एपस्टाइनको आग्रहमा बैठकपछि खिचिएको गेट्सले बताएका छन् । उनले आफूले कहिल्यै पनि एपस्टाइनका पीडितहरूसँग समय नबिताएको दाबी गरेका छन् ।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनका प्रवक्ताले उक्त बैठक पूर्वनिर्धारित रहेको र गेट्सले विभिन्न विषयमा उठेका प्रश्नहरूको जवाफ दिएको बताएका छन् । फाउन्डेशनले यस विषयमा यही नै आधिकारिक धारणा भएको जनाउँदै थप टिप्पणी नगर्ने स्पष्ट पारेको छ । यसअघि पनि फाउन्डेशनले एपस्टाइनलाई कुनै आर्थिक सहयोग नगरेको र कुनै पदमा नियुक्ति नदिएको स्पष्ट पारेको थियो ।

गेट्स फाउन्डेशन सन् २००० मा स्थापना भएको विश्वकै ठूलो परोपकारी संस्थामध्ये एक हो । सन् २०२४ मा मेलिन्डा गेट्सले सहअध्यक्ष पदबाट राजीनामा दिएपछि संस्थाको नेतृत्व गेट्सले सम्हाल्दै आएका छन् । गेट्सले सन् २०४५ को डिसेम्बर ३१ मा संस्था स्थायी रूपमा बन्द गर्ने घोषणा गरिसकेका छन् । उनले सन् २०२६ का लागि करिब ९ अर्ब डलर र आगामी २० वर्षका लागि २०० अर्ब डलर बराबरको परोपकारी बजेट तय गरेको बताएका छन् । साथै आगामी दिनमा कर्मचारी संख्या घटाउँदै क्षतिपूर्ति उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेका छन्।