Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नासाको चन्द्रमा अभियानको तयारी तीव्र, एसएलएस रकेटको महत्वपूर्ण इन्धन परीक्षण सफल

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो शक्तिशाली स्पेस लञ्च सिस्टम चन्द्र रकेटको महत्वपूर्ण इन्धन परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यस सफलतासँगै आर्टेमिस-२ मानवयुक्त चन्द्र अभियानको तयारीले गति लिएको छ । यो अभियानमार्फत ५० वर्षभन्दा बढीपछि अन्तरिक्ष यात्री पुनः चन्द्रमातर्फ उड्नेछन् ।

आर्टेमिस- २ नासाको आर्टेमिस कार्यक्रमअन्तर्गतको पहिलो मानवयुक्त चन्द्र मिशन हो । सन् १९७२ मा सम्पन्न एपोलो १७ पछि पहिलो पटक अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको कक्षासम्म लैजाने योजना रहेको छ । करिब १० दिनको यस यात्रामा चार जना अन्तरिक्ष यात्री ‘ओरियन’ अन्तरिक्ष यानमार्फत चन्द्रमाको परिक्रमा गर्नेछन्, तर अवतरण भने गर्ने छैनन् । यो भविष्यको आर्टेमिस- ३ चन्द्र अवतरण अभियानका लागि महत्वपूर्ण सुरक्षा परीक्षणका रूपमा हेरिएको छ ।

नासाको टोलीले प्रक्षेपणस्थलमा उभिएको एसएलएस रकेटमा दोस्रोपटक सुपर-कुल्ड इन्धन भरेको थियो। करिब सात लाख ग्यालन (झन्डै २६ लाख लिटर) अत्यन्त चिसो इन्धन भरेर काउन्टडाउन अन्तिम ३० सेकेन्डसम्म पुर्‍याइयो । अन्तिम १० मिनेटको प्रक्रियाको पुनः परीक्षणका लागि काउन्टडाउन रोकिने निर्णय गरिएको थियो ।

नासाका अनुसार यसपटक हाइड्रोजन ग्यासको चुहावट न्यून र सुरक्षित सीमाभित्र रहेको पाइयो । इन्जिनियरहरू अहिले परीक्षणबाट प्राप्त तथ्यांक विश्लेषणमा जुटेका छन्। यसले आगामी मार्चमा मिशन प्रक्षेपण सम्भव छ वा छैन भन्ने निर्णय गर्न सहयोग गर्नेछ ।

करिब दुई साता अघि गरिएको परीक्षणमा रकेट र लञ्च प्याडबीचको जडानबाट ठूलो मात्रामा लिक्विड हाइड्रोजन चुहावट भएको थियो, जसलाई जोखिमपूर्ण मानिएको थियो। त्यसपछि इन्जिनियरहरूले सिल र फिल्टर परिवर्तन गरी आवश्यक सुधार गरेका थिए। नयाँ सुधारपछि गरिएको परीक्षण सकारात्मक देखिएको नासाले जनाएको छ ।

सबै प्रक्रिया योजनाअनुसार अघि बढेमा मिशन मार्च ६ मा प्रक्षेपण हुन सक्ने अनुमान गरिएको छ । मिशनमा तीन अमेरिकी र एक क्यानेडियन अन्तरिक्ष यात्री सहभागी हुनेछन् । तयारीस्वरूप उनीहरू क्वारेन्टिनमा जाने तयारीमा रहेका छन्, ताकि प्रक्षेपण अवधिमा स्वास्थ्य जोखिम न्यून होस् ।

हाइड्रोजन चुहावट नासाका लागि नयाँ समस्या होइन। स्पेस शटल कार्यक्रमदेखि नै यो चुनौती दोहोरिँदै आएको छ, किनकि एसएलएसका केही इन्जिन सोही प्रविधिमा आधारित छन् । आर्टेमिस कार्यक्रमअन्तर्गतको पहिलो परीक्षण उडान पनि यही समस्याका कारण महिनौँ ढिलाइपछि नोभेम्बर २०२२ मा सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

नासाले स्पष्ट पारेको छ कि सुरक्षा पहिलो प्राथमिकता हो। भविष्यको आर्टेमिस-३ अभियानअघि रकेट र लञ्च प्याडबीचको इन्धन जडान प्रणाली पुनः डिजाइन गर्ने योजना बनाइएको छ । आर्टेमिस-३ को लक्ष्य अन्तरिक्ष यात्रीलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गराउनु रहेको छ ।

नासाको यो पछिल्लो सफल परीक्षणले मानवको चन्द्र यात्रा पुनः सुरु गर्ने ऐतिहासिक तयारीलाई थप बल दिएको छ ।