Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी बारे अर्थमन्त्री खनालको अनुगमन

फाल्गुण २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रमका क्रममा अर्थमन्त्री रामेश्‍वर खनालले रूकुम पश्चिम तथा जाजरकोट जिल्लाको स्थलगत अनुगमन भ्रमण गरेका छन् । सोक्रममा जिल्लाको निर्वाचन तयारीका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित चारवटै सुरक्षा प्रमुखबाट निर्वाचन तयारी, सुरक्षा प्रवन्ध, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए । 

सो अवसरमा रूकुम पश्‍चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र २१ वटा मतदान स्थललाई अति संवेदनशीलमा राखिएको अर्थमन्त्री खनाललाई जानकारी गराए । अर्थमन्त्री खनालले  अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारी अवस्थाको जानकारी लिएका थिए । सो क्रममा उनले मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीसँग छलफल गरी हालसम्मको निर्वाचन तयारी र अवस्थाका बारेमा जानकारी लिए ।

त्यसैगरी जाजरकोट जिल्लाको स्थलगत अनुगमन गर्ने क्रममा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आचारसंहिता परिपालनाको स्तर सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्री खनाललाई गराए ।

उनले अनुगमनकै क्रममा जिल्ला निर्वाचन कार्यालयमा समेत स्थलगत भ्रमण गरी निर्वाचन तयारीको जानकारी लिए । सो अवसरमा मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले हालसम्मको निर्वाचन तयारी अवस्थाका बारेमा जानकारी गराएका थिए । 

दुबै जिल्लामा निर्वाचन तयारी र आचारसंहिता पालना स्थितिको स्थलगत अनुगमन पश्‍चात अर्थमन्त्रीले निर्वाचनको तयारी सन्तोषजनक रुपमा अगाडि वढेको, स्थानीयस्तरमा राजनीतिक दल र उमेदवारहरुका बीच स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण भएको र आम मतदाताहरुले भयरहित रुपमा निर्वाचनमा सहभागि हुन पाउने अवस्था रहेको समेत जानकारी गराए ।