Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

६६ वटा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अमेरिका बाहिरिने, ट्रम्पले गरे हस्ताक्षर

संयुक्त राष्ट्रसंघ सम्बन्धित निकायसहित दर्जनौं अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट अमेरिका बाहिरिने भएको छ। ट्रम्प प्रशासनले यस्ता संस्थाले अमेरिकी हितभन्दा अन्य मुद्दा र एजेन्डामा ध्यान केन्द्रित गरेको भनेर बाहिरिने निर्णय गरेको हाे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उक्त अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट बाहिरिने निर्णय गरेको हाे ।यसअघि ट्रम्प प्रशासनले संयुक्त राष्ट्रसंघसँग आबद्धसहित सबै अन्तर्राष्ट्रिय संस्थामा अमेरिकी सहभागिता र आर्थिक योगदानको समीक्षा गरेको थियो।

यूएन बाहिरका संस्थामध्ये एटलान्टिक सहकार्य साझेदारी, अन्तर्राष्ट्रिय लोकतन्त्र तथा निर्वाचन सहायता संस्था र अन्तर्राष्ट्रिय प्रतिआकंवादसम्बन्धी फोरम पनि अमेरिकी बहिर्गमनको सूचीमा परेका छन्।

ह्वाइट हाउसले कुन-कुन संगठन हुन् भन्ने सूची भने सार्वजनिक गरेको छैन । तर गैरसंयुक्त राष्ट्रसंघीय संस्थाहरूमा भारत र फ्रान्स नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) र जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल जस्ता प्रमुख वातावरणीय संस्थाहरू समेत समावेश रहेको जनाइएको छ। त्यसैगरी आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानून आयोग, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, शान्ति निर्माण आयोग, संयुक्त राष्ट्र ऊर्जा तथा संयुक्त राष्ट्र जनसंख्या कोषबाट समेत अमेरिका बाहिरिएको हो ।

हाल प्रशासनले संयुक्त राष्ट्रसंघमा समेत आफूलाई अनुकूल लाग्ने निकायमा मात्र योगदान दिने ‘आ–ला–कार्ट’ नीति अपनाएको  अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) ले जनाएको छ।