अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेतालाई नियन्त्रणमा लिएपश्चात् कोलम्बियाका समकक्षी गुस्तावो पेट्रोलाई धम्की दिएका छन् । आइतबार साँझ एयर फोर्स वन विमानमा पत्रकारलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले क्युबाको सरकार पनि चाँडै ढल्ने सम्भावना रहेको बताएका छन् । क्युबामा अमेरिकी सैन्य हस्तक्षेप निश्चित रहेको समेत बताए ।
“क्युबा आफैँ ढल्न तयार भएकाे जस्तो देखिन्छ । उनीहरूले कसरी सम्हाल्न सक्छन्, मलाई थाहा छैन । तर, क्युबामा अहिले कुनै आय छैन र त्यहा सबै आय भेनेजुएलाबाट, भेनेजुएलाको तेलबाट आउँथ्यो,” ट्रम्पले भने ।
“कोकिन (लागुऔषध) बनाउन र अमेरिकालाई बेच्न मन पराउने बिरामी व्यक्तिले सञ्चालन गरेको भेनेजुएला धेरै बिरामी छ । साथै कोलम्बिया पनि धेरै बिरामी छ र उसले अब लामो समयसम्म यस्ताे गर्ने छैन,” ट्रम्पले भने ।
कोलम्बियामा अमेरिकी ‘अपरेसन’को अर्थ के हो भनेर प्रश्न गर्दा ट्रम्पले भने, 'मलाई राम्रो लाग्छ ।'