सेयर व्यापारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई बिहीबार काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
यसअघि पनि अग्रवाल साउन ५ गते ठगी तथा आपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेका थिए। सोही प्रकरणमा अनुसन्धानपछि उनी रिहा भएका थिए। तर करिब पाँच महिनापछि सिआईबीले उनलाई फेरि नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार अग्रवाललाई थप अनुसन्धानका लागि पक्राउ गरिएको भए पनि पक्राउको ठोस कारण भने हालसम्म सार्वजनिक गरिएको छैन। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सिआईबीले यस विषयमा औपचारिक विवरण नदिएको जनाएको छ।
अग्रवाल सेयर कारोबारसँग सम्बन्धित विभिन्न गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। यसअघि उनीमाथि सेयर बजारसँग जोडिएका ठगी तथा आर्थिक अनियमितताका आरोप लाग्दै आएका थिए। हालको पक्राउ पनि आर्थिक अपराध तथा वित्तीय कारोबारसँग सम्बन्धित हुन सक्ने प्रहरी स्रोतको अनुमान छ।
अग्रवाल हाल सिआईबीको नियन्त्रणमा छन्। आवश्यक बयान लिने तथा कागजात संकलन गर्ने प्रक्रिया अगाडि बढाइएको छ। अनुसन्धानको निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
यस विषयमा सिआईबीले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।