Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी जाने कामदारको स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्ने भएको छ ।

अन्तरराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारमा जानेका लागि निर्धारित स्वास्थ्य परीक्षण शुल्क अत्यन्तै महंगो भएको उल्लेख गर्दै पछिल्लो पटक भएको शुल्क वृद्धिमा पुनारवालोकन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको बताए  । “स्वास्थ्य परीक्षण शुल्क चर्को भएको कुरा आएको छ, शुल्क वृद्धि खारेजको प्रक्रियामा जाँदैछौ”, उनले भने । मन्त्रालयले केही समय अघि ६ हजार ५०० रहेको शुल्क बढाएर नौ हजार ५००  बनाएको थियो ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारी जानेहरुलाई सीपमुलक तालिम दिने बाहानामा विभिन्न ठगीका घटना बढेको उल्लेख गर्दै सरकारले आफैले तालिम दिने विषयमा पनि सोचिरहेको बताए । उनले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणमा संयन्त्रगत रुपमा काम सुरु गरिएको पनि उल्लेख गरे । 

कार्यक्रममा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले मानव अधिकार हरेक श्रमिकको अधिकार भएकाले सम्मानजनक रुपमा श्रम गर्न पाउनुपर्नेमा जोड दिए । श्रमिकको अधिकार सुनिश्चित गर्न वैदेशिक रोजगार व्यवसायी, मानव अधिकार सञ्जाल, संघसस्थालगायत निजी क्षेत्रको हातेमालोबाट मात्रै सम्भव हुने उनको भनाइ थियो । 

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले वैदेशिक रोजगारका नयाँ गन्तव्यमा रोजगार गर्न जान पाउने मानव अधिकारलाई राज्यले सहज बनाउनु पर्नेमा जोड दिए ।

मन्त्रालयका उपसचिव महेश पराजुली र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपि) का प्रतिनिधि टेक टमाटाले श्रम र मानव अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो । मन्त्रालयले अन्तरराष्ट्रिय आप्रवासन दिवस पुस ७ गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।