Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

केपी ओली पुनः एमाले अध्यक्ष निर्वाचित हुनु अधिनायकवादको अनुमोदन: रक्षा बम

जेनजी आन्दोलनकी अगुवा रक्षा बमले नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित हुनु भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुश प्रवृत्तिको अनुमोदन भएको भन्दै कटाक्ष गरेकी छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बमले पार्टीभित्रको निर्वाचनलाई जनताको वास्तविक चाहनासँग अलग भएको टिप्पणी गरेकी हुन्। उनले केपी शर्मा ओली अझै जनताबाट अनुमोदित हुन बाँकी रहेको दाबी गरिन्।

‘उनीहरूले पुनः भ्रष्टाचार, अधिनायकवाद, स्वेच्छाचारिता र निरंकुशतालाई अनुमोदन गरे,’ बमले लेखेकी छन्, ‘केपी ओली र उनका भजनमण्डली अझै जनताको कठघरामा उभिएका छैनन्। जनताले विश्वास दिन त बाँकी नै छ।’

उनले युवाहरूले भदौ २३ गते आफ्नो आवाज उठाइसकेको उल्लेख गर्दै अन्तिम निर्णय भने जनताले मतपेटिकामार्फत सुनाउने बताइन्।

ओली नेतृत्वप्रति कटाक्ष गर्दै बमले लेखेकी छन्, ‘तानाशाहलाई उसका आसेपासेहरूले बलियो बनाइरहेका होलान्। उनीहरूले बादशाहको नयाँ पोशाकलाई उम्दा भन्नैपर्छ। तर भीडमाझबाट चेतनशील र नडराएका मानिसहरू भने “बादशाह नाङ्गो छ” भन्दै आएका छन् र भनिरहनेछन्।’