राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । युवराज पौडेल (सफल)ले लामिछाने राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटको आज सुनुवाइको लागि पेसी तोकिएको थियो ।
पौडेलले दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि रिटमा उल्लेख गरेका छन् । उनले लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।
त्यस्तै, राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।