एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एङ्कर लगानी रहेको एनआईबीएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई संस्थाको सह–प्रमुखमा नियुक्त गरेको छ ।
नेपालको विकसित हुँदै गएको पूँजी बजारमा मल्लसँग रहेको लगानी रणनीति, क्लाइमेट फाइनान्स, निजी इक्विटी तथा दिगो वित्तीय क्षेत्रसम्बन्धी अनुभव संस्थाको दीर्घकालीन रणनीतिक लक्ष्यका लागि महत्वपूर्ण हुने संस्थाले जनाएको छ ।
नयाँ भूमिकामा, मल्लले निजी इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्तीय रणनीतिहरूमा संस्थाको नेतृत्व सुदृढ गर्ने जिम्मेवारी पाउनेछिन् । उनी ईएसजी–सम्बद्ध लगानी संरचना विस्तार, ड्यु–डिलिजेन्स प्रक्रियाको मजबूती, पोर्टफोलियो निगरानी तथा नेपालको आर्थिक रूपान्तरणलाई समर्थन गर्ने दिगो वित्तीय साधनहरूको विकासमा केन्द्रित हुनेछिन् ।
एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकारी शिवन्थ बहादुर पाण्डेले भने, ‘रितु मल्लको निजी इक्विटी, दिगोपन तथा उद्यम विकाससम्बन्धी अनुभवले हाम्रो नेतृत्व टोली अझ सक्षम बन्थ्यो । उनीसँगको सहकार्य हाम्रो दीर्घकालीन लगानी दृष्टिकोण र नेपालका वित्तीय बजारमा मूल्य–सृजन गर्ने प्रतिबद्धतासँग मेल खान्छ ।’
नियुक्तिपछि मल्लले भनिन्, ‘नेपालको पूँजी बजार तीव्र गतिमा परिवर्तन भइरहेको समयमा एनआईबीएल इक्विटी पार्टनर्समा शामिल हुन पाउँदा सम्मानित महसुस गरिरहेकी छु । दिगो प्रभावसहितको वृद्धिको ठूलो सम्भावना छ। संस्थाको महत्वाकांक्षी दृष्टिकोणलाई सघाउन म उत्सुक छु ।’
मल्लसँग १४ वर्षभन्दा बढी निजी इक्विटी, क्लाइमेट फाइनान्स, उद्यम विकास र दिगो प्रभावका क्षेत्रको अनुभव छ। उनले यसअघि बिजनेश अक्सिजन(बीओटु)मा नेतृत्व भूमिकामा रहेर वृद्धि–अवस्थाका कम्पनीहरूको लगानी रणनीति तथा उद्यम विकास कार्यक्रमहरू सञ्चालन गरेकी थिइन् ।
उनी हाल घामपावरकी स्वतन्त्र निर्देशक तथा इम्प्याक्ट हब काठमाण्डौकी उपदेशक मण्डल सदस्यसमेत छिन् । ईएसजी समावेशीकरणको बलियो पक्षधरका रूपमा चिनिने मल्लले आईएससीद्वारा निर्धारित अन्तर्राष्ट्रिय मापदण्डअनुसार लगानी प्रक्रियालाई दिगो रूपले संयोजन गर्ने कार्यमा पहिचान स्थापित गरेकी छिन् ।