Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नोबेल शान्ति पुरस्कार विजेता माचाडो हस्तान्तरण कार्यक्रममा उपस्थित नहुने

भेनेजुएलाकी विपक्षी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले ओस्लोमा हुने पुरस्कार समारोहमा उपस्थित नहुने भएकी छन् । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको सरकारको उत्पीडनमा परेकी माचाडो गत वर्षदेखि लुकेर बस्दै आएकी छिन् र उनको हालको अवस्था अज्ञात रहेको छ । उनका प्रतिनिधिले नोबेल समारोहमा माचाडो उपस्थित नहुने बताएको सिएनएनले उल्लेख गरेको छ ।

नर्वेजियन नोबेल संस्थानका अनुसार माचाडोकी छोरीले पुरस्कार स्वीकार गर्नेछिन् र आफ्नी आमाको तर्फबाट भाषण दिनेछिन् । आयोजकहरूको एक विज्ञप्तिले माचाडो समारोहमा उपस्थित नहुने भए पनि, उनी कुनै समयमा ओस्लोमा हुने विश्वास व्यक्त गरेका छन् ।

आयोजकले समारोह उनी उपस्थित हुन नसक्ने तर उनी सुरक्षित रहेको र ओस्लोमा अनलाइन सामेल हुने पुष्टि गरेको छ ।  माचाडोले भेनेजुएलामा लोकतान्त्रिक अधिकारको अथक प्रवर्द्धन गरेको र 'तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण प्राप्त गर्न उनको संघर्षको लागि' यस बर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन् । माचाडोले नोबेल शान्ति पुरस्कार पाएपछि उनी पुरस्कार लिन उपस्थित हुने विषय शुरुदेखि नै चर्चाको विषय बनेको थियो ।

नोबेल पुरस्कार विजेताले ११ मिलियन स्विडिश क्रोनोर अर्थात लगभग १.१७ मिलियन डलर नगद पुरस्कार पाउने गर्दछन् । नोबेल शान्ति पुरस्कार विजेतालाई आज नर्वेको ओस्लोमा विशेष कार्यक्रममा पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।