Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

छोरा निराजनको जिम्मामा रिहा भए दुर्गा प्रसाईं

विवादित मेडिकल व्यवसायी तथा ‘राजा फर्काउने’ अभियानका अगुवा दुर्गा प्रसाईं आइतबार साँझ थुनामुक्त भएका छन्। सर्वोच्च अदालतको आदेशपछि उनी छोरा निराजन प्रसाईंको जिम्मामा रिहा भएका हुन्।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार प्रसाईंलाई तत्काल रिहा गर्न आदेश दिएको थियो। आदेश जारी भएलगत्तै उनलाई निराजनले बुझेर लगेका हुन्।

राजसंस्था पुनःस्थापनाको मागसहित अनिश्चितकालीन आन्दोलनमा जुटेका प्रसाईंलाई संगठित अराजकता फैलाएको आरोपमा गत सोमबार मध्यराति मध्यपुरठिमीस्थित निवासबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि मुद्दा अनुसन्धानका लागि चार दिनको म्याद समेत थपेको थियो।

प्रसाईंको गिरफ्तारीपछि उनका समर्थकहरूले देशव्यापी आन्दोलन घोषणा गरेका थिए। तर सरकारसँग शनिबार भएको सहमतिपछि उक्त आन्दोलन स्थगित गरिएको थियो।