Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भियतनाममा भिषण वर्षापछि बाढी, ४१ जनाको मृत्यु

भियतनाममा अविरल वर्षाका कारण बाढी आउदा ४१ जनाको मृत्यु भएको छ । भियतनामी राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार, मध्य भियतनाममा अविरल वर्षा र बाढीले गत हप्तामा कम्तिमा ४१ जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता छन् ।

रिपोर्टका अनुसार, बाढीले ५२ हजारभन्दा बढी घरहरू डुबानमा पारेको छ र आधा लाख घर र पसलहरू बिजुलीविहीन बनाएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

विगत तीन दिनमा, धेरै क्षेत्रमा डेढ मिटरभन्दा बढी वर्षा भएको छ । भियतनामले हालैका महिनाहरूमा गम्भीर मौसमको अनुभव गरेको छ । कालमेगी र बुआलोई आँधीले पनि उल्लेखनीय विनाश गरेको छ ।

सरकारी अनुमानका अनुसार, जनवरी र अक्टोबरको बीचमा भियतनाममा प्राकृतिक प्रकोपले २ अर्ब डलरको क्षति पुर्‍याएको छ ।