Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

नेपाली युवतीलाई चिनियासँग बिहे गराइदिने गिरोह पक्राउ

नेपालमा अवैध रूपमा ‘म्यारिज ब्युरो’ चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरूलाई अध्यागमन विभागको टोलीले काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई चिनियाँ पुरुषसँग विवाह गराइदिने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विभागका अनुसार पक्राउ पर्नेहरूमा तीन पुरुष र एक महिला छन् ।

हाउजिङमा बस्दै आएका उनीहरूको भिसा भने व्यावसायिक भए पनि वास्तविक व्यवसाय के हो भन्ने प्रश्नमा उनीहरू स्पष्ट हुन नसकेको विभागले जनाएको छ । साथै, उनीहरूले नेपाली किशोरीहरूलाई टिकटक बनाउन लगाई त्यसकै माध्यमबाट चिनियाँ व्यक्तिहरूसँग सम्पर्क स्थापित गराई विवाहसम्म पुर्‍याउने काम सञ्चालन गरेको पाइएको विभागले बताएको छ ।

केही युवतीहरूलाई विवाहका नाममा चीन पठाइएको जानकारी पनि अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुई जनाले विगत करिब १० वर्षदेखि पर्यटक, विद्यार्थी तथा व्यावसायिक भिसाको आधारमा नेपालमै बस्दै आएको भेटिएको छ । कानुनअनुसार अवैध रूपमा बस्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना र देश निकाला गर्ने प्रावधान छ ।